जोर्डनसँग फाइनल खेल्न नपाएपछि साम्बाले भनिन्, ‘हामी सक्छौं, हामी गर्छौं’

लोकपथ
5.3k
Shares

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइगर सावित्रा भण्डारी साम्बाले जोर्डनविरुद्ध हुने फाइनल खेलमा आफू नभए पनि नेपाली टिमले जित्ने विश्वास लिएकी छिन् ।

फ्रान्स क्लबमा आवद्ध रहेका कारण महत्वपूर्ण मानिएको खेलमा उनले प्रतिष्पर्धा गर्न पाउने छैनन् । आफूले मैदानमा आएर गोलको खुुसीयाली साट्न नपाए पनि आफ्नो पूर्ण समर्थन नेपाली टोलीलाई हुने भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।

‘खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु । शुभकामना टिम ! हामी सक्छौं, हामी गर्छौं!’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

आफूले देशका लागि खेल्ने मन हुँदाहुँदै पनि आफ्नो व्यवसायीक करियर र सम्झौतालाई त्यतिकै महत्व दिनुपर्ने बताइन् । साथै क्लबले आफ्नो लागि सधैँ सहज वातावरण मिलाएको र यसपटक फिफाले तोकेको मापदण्ड भन्दा पनि धेरै समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।’

पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपालले बलियो प्रतिद्वन्द्वी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ । सातौं संस्करणसम्म आइपुग्दा जोर्डनले पाँच पटक उपाधि जितेको छ भने डिफेन्डिङ च्याम्पियन पनि हो । नेपाल भने पहिलो पटक फाइनलमा पुगेको हो ।

जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाल र जोर्डनबीच्को खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?