एजेन्सी । मुम्बई इन्डियन्सले १२ औँ संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटको उपाधि जितेको छ ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा आइतवार राति सम्पन्न भएको फाइनल खेलमा मुम्बई इन्डियन्सले साविक विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
१ सय ५० रनको सामान्य लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ४८ रन बनायो । चेन्नईका लागि सेन वाट्सनले ८० रनको अर्धशतकीय पारी खेले पनि त्यो जीतको लागि प्रयाप्त हुन सकेन ।
त्यस्तै फाप डु प्लेसिसीले २६ रन, ड्याने ब्राभोले १५ रन तथा कप्तान महेन्द्र सिंह धोनी २ रन जोडे । यता मुम्बईका लागि जस्प्रित बुम्राहले २ विकेट तथा लासिथ मलिंगा, राहुल चाहल र हार्दिक पाण्डयले समान एक-एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल तयार पारेको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन, क्विनटन डी ककले २९ तथा इशान किशनले २३ रन बनाए ।
चेन्नईका दिपक चाहरले ३ विकेट तथा इमरान ताहिर र सार्दुल ठाकुरले समान २-२ विकेट लिए । मुम्बईले जितेको यो चौथो उपाधि हो ।
त्यस्तै रोहित शर्मा चार पटक आईपीएल जित्ने पहिलो कप्तान समेत बने । यता कोलकता नाइट राइडर्सका आन्द्रे रसेल मोस्ट भ्यालुएबल प्लेयर चुनिए । उनले ह्यारिएर सुपर स्ट्राइकर अवार्ड समेत हात पारे ।
त्यस्तै मुम्बई इन्डियन्सका हार्दिक पाण्ड्याले सर्वाधिक चाडो शतक प्रहार गर्नेको अवार्ड जिते । परफेक्ट क्याच अफ दि सिजन मुम्बईकै केइरन पोलार्ड, स्टाइलिस प्लेयर अवार्ड लोकेश राहुल र गेम चेन्जर अवार्ड मुम्बईकै राहुल चाहरले हात पारे ।
सनराइजर्स हैदरावादका डेभिड वार्नरले सर्वाधिक रन बनाउने खेलाडी ‘ओरेन्ज क्याप’को अवार्ड जित्दा चेन्नई सुपर किङ्ग्सका इमरान ताहिरले सर्वाधिक विकेट लिने खेलाडी ‘पर्पल क्याप’ अवार्ड जितेका छन् ।
फेयर प्ले अवार्ड भने सनराइजर्स हैदरावादले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया