नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत पोखरेल डिआईजीमा बढुवा भएसँगै उनलाई प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो । 

गत हप्ता बसेको बढुवा समितिको बैठकले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम (४) को प्रावधान अनुसार एसएसपीबाट डिआईजीमा बढुवा गर्ने  सिफारिस गरेको थियो ।

६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डिआईजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो । यसअघि नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी थिए ।

प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका पोखरेलले जनता र प्रहरीबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताए । 

‘संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा छु’ उनले भने, ‘सरोकारवाला सबै निकायसँग समन्वय गरेर अगाडि बढ्छु ।’

डिआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा डिआईजीको एक पद रिक्त थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?