एजेन्सी । ब्रिटेनकी जोहन्ना कोन्टा जारी इटालियन ओपन टेनिस च्याम्पियनसिपको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
सोमवार राति सम्पन्न भएको महिला एकलतर्फको दोस्रो चरणको खेलमा कोन्टाले अमेरिकी एलिसन रिस्कलाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गर्न सफल भएकी हुन् ।
उनले रिस्कलाई खेलको पहिलो सेटमा ६-४ र दोस्रो सेटमा ६-१ ले हराएकी थिइन् । यि दुई खेलाडीबीचको खेल एक घण्टा ३० मिनेट चलेको थियो । अब कोन्टाले सन् २०१७ की युएस ओपनकी विजेता अमेरिकी स्लोन स्टेफिन्सको सामना गर्नेछिन् ।
त्यस्तै सोमवार राति नै भएको अर्को खेलमा अमेरिकी सेरेना विलियम्सले स्विडेनकी रेबिक्का पिटरसनलाई ६-४ र ६-२ को सेटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गर्न सफल भइन् ।
यो प्रतियोगिताको चार पटककी विजेता विलियम्सले अब तेस्रो चरणको खेलमा आफ्नै दिदी भेनस विलियम्ससँग भिड्नेछिन् ।
भेनसले दोस्रो चरणको खेलमा बेल्जियमकी एलिस मार्टेन्सलाई ७-५, ३-६ र ७-६ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया