हवाईयात्रा सुरक्षित बनाउन पहल

नेपालगञ्ज । कैलाश मानसरोवर जाने तीर्थयात्रीको हवाईयात्रा सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयले पहल गरेको छ । 

हवाईयात्रा सुरक्षित र व्यवस्थित गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको प्राधिकरणको नेपालगञ्ज कार्यालयका प्रमुख प्रेमचन्द्र ठाकुरले बताए । 

नेपालगञ्ज र हुम्ला विमानस्थलमा तीर्थयात्रीको सुविधमा ध्यान पु-याउन कार्यालयले कम्पनीलाई निर्देशन दिएको छ । ‘कैलाश मानसरोवर जाने तीर्थयात्रुलाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा अलग्गै भवन बनाउँदै छौँ’, ठाकुरले भने, ‘एयरलाइन्स र हेलिकप्टर कम्पनीलाई उचित व्यवस्थापनमा ध्यान दिन भनेका छौँ ।’

 मानसरोवर जाने तीर्थयात्री नेपालगञ्जबाट हुम्लासम्म जहाज र त्यहाँबाट हिल्सासम्म हेलिकप्टरमा यात्रा गर्ने गर्छन् । गतवर्ष हेलिकप्टरको पङ्खाले लागेर एक भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो । सम्भावित दुर्घटना हुन नदिन पूर्व तयारी गरिने ठाकुरले बताए ।

कार्यालयले हुम्लामा हेलिकप्टर कम्पनीका कर्मचारीसँग यसबारे प्रशिक्षण दिने तयारी गरेको छ । केही दिनमा मानसरोवर यात्रा शुरु हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?