प्रथम मेयर कप उमेर समूह बुद्धिचाल हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको २४ औँ महानगर दिवसको अवसरमा प्रथम मेयर कप उमेर समूहको बुद्धिचाल प्रतियोगिता हुने भएको छ । 

यही जेठ ३ देखि ५ गतेसम्म हुने सो प्रतियोगिता काठमाडौं महानगरपालिका २४ नम्बर वडाको आयोजनामा हुने भएको हो । यस प्रतियोगिताको सहआयोजक, सञ्चालन र व्यवस्थापकीय जिम्मेवारी मखन चेस क्लबको रहेको आयोजक एवं २४ वडाका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

मुलुकभर खुल्ला बुद्धिचाल प्रतियोगिता भए तापनि उमेर समूहको बुद्धिचाल निकै कम मात्रमा हुने गर्दछ ।

त्यसमा पनि नगद पुरस्कार भने हुँदैन भने पनि हुन्छ । त्यस्तो परम्परालाई तोड्दै प्रथम मेयर कपले तीन विधा यु–१२ छात्र, यु–१२ छात्रा र यु–१६ छात्र तथा छात्रा एकै समूहलाई कुल एक लाख ८० हजार पुरस्कार राशीको प्रतियोगिता गरिन लागेको हो । 

यस प्रतियोगिताकोे तीनै समूहका प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ तथा पदक तथा ट्रफी दिइने छ ।

स्वीस लिगअनुसार ७ चरणमा हुने प्रतियोगितामा ५ सय रुपैयाँ प्रति खेलाडी प्रवेश शुल्क राखिएको मखन चेस क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठले बताए । प्रतियोगिता सञ्चालन गर्नका लागि ४ लाख ४७ हजार खर्च हुने अनुमान गरिएको छ ।

यो प्रतियोगिता २४ वडा कार्यालयसँगै तारिणीबहालमा हुने छ । यस प्रतियोगितालाई नेपाल बुद्धिचाल संघबाट प्राविधिक सहयोग हुने संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?