‘लघु चलचित्र प्रतियोगिता’मा अप्पन प्रथम

काठमाडौं । ‘लघु चलचित्र प्रतियोगिता –२०७५’मा ‘अप्पन’ प्रथम भएको छ । 

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डामा मंगलवार आयोजित एक कार्यक्रममा ‘लघु चलचित्र प्रतियोगिता–२०७५’ मा कृष्ण कुमार महतोको ‘अप्पन’ प्रथम भएको हो । ‘अप्पन’का लेखक महतोलाई प्रधानसेनापति थापाले दुई लाख नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेका थिए । 

त्यस्तै द्वितीय हुने गगन कुमार श्रेष्ठको ‘चाहना’लाई एक लाख ५० हजार र तृतीय हुने प्रद्युम्न मिश्रको ‘हातेमालो’ लाई एक लाख नगद पुरस्कार तथा प्रशंसा पत्र प्रधानसेनापति थापाले प्रदान गरेका थिए ।

नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा चौथो हुने महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’ र पाचौं हुने शम्भु थापाको ‘साहस’ ले सान्त्वना पुरस्कार स्वरुप जनही २५ हजार रुपैयाँका दरले नगद तथा प्रमाण पत्र प्राप्त गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले प्रतियोगिताका सम्पूर्ण प्रतियोगीहरुलाई जनही २५ हजार तथा प्रमाण पत्र प्रदान गरेका थिए । 

साथै प्रधानसेनापति थापाले ‘सिपाही वार्षिक–२०७५’ तथा ‘द शिवपुरी जर्नल–२०१९’ मा प्रकाशित लेख रचनाहरुमध्ये प्रथम हुने महा सेनानी रञ्जीत थापा, द्वितीय हुने प्रमुख सेनानी शिवराज पन्त र तृतीय हुने चिरञ्जीवी भण्डारीलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार र कदरपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?