विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र मोरङ क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेका छन् ।
विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
इलामले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा सप्तरीलाई पराजित गरेको थियो । हारपछि सिरहा एक खेल खेल्नु अगाडि नै प्रतियोगिताबाट बाहिरिएको छ ।
टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १५ ओभरमा सवै विकेट गुमाई ५३ रनको सामान्य योगफल तयार पारेको थियो । सिरहाका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् । इलामकी प्लेयर अफ द म्याच यमुना राईले ४ विकेट लिँदा मुना राई र पुस्मिता मुखियाले २–२ विकेट लिए ।
५४ रनको सामान्य लक्ष्य पाएको इलामले १० दशमलव १ बलमा ६ विकेट गुमाई भेट्टाएको थियो । इलामकी प्रियंका राईले सर्वाधिक नटआउट २१ रनको योगदान दिइन् । सिरहाकी अपेक्षा यादव र साक्षी यादव ३–३ विकेट लिइन् ।
आजै भएको दोस्रो खेलमा मोरङले सप्तरीलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मोरङले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा सिरहालाई पराजित गरेको थियो ।
हारपछि सप्तरी एक खेल खेल्नु अगाडिनै प्रतियोगिताबाट बाहिरिएको छ । । टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ७ गुमाई ७३ रनको स्कोर खडा गरेको थियो । सप्तरीका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् ।
मोरङकी प्लेयर अफ द म्याच सानु राजवंशीले २ विकेट लिँदा कृतिसा धामी र चाँदनी यादवले पनि २–२ विकेट लिइन् ।
७४ रनको लक्ष्य पछ्याएको मोरङले ८ दशमलव १ बलमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको छ । मोरङका लागि सानु राजवंशीले २५ रन बनाउँदा नमिता श्रेष्ठले नटआउट २० रनको योगदान दिइन् । सप्तरीकी मिना महतो र अजमेरि खातुनले १–१ विकेट लिइन् ।
बिहिवारको पहिलो खेल मोरङ र इलाम र दोस्रो खेल सप्तरी र सिरहाबीच हुने खेल संयोजक विशाल साहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया