महाशिवरात्रि – सिल्लाचःह्रे

सनातनी व्रत उपासनाहरु मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रि पर्व फागुन कृष्ण चतुर्दशीको रातलाई आशुतोष भगवान शिवको उत्पत्ति भएको रात्रिका रुपमा पौराणिक ग्रन्थहरुमा वर्णन गरिएको छ । वर्षदिनमा आउने रात्रिहरु मध्य कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

प्रत्येक महिनामा पर्ने कृष्णचतुर्दशी सबै नै शिवरात्रि हुन् तर फाल्गुन महिनामा पर्ने कृष्ण चतुर्दशीको विशेष महत्त्व भएकोले यस दिनलाई ‘महा’ विशेषण जोडेर महाशिवरात्रि नामले पुकारिन्छ । क्षयपूर्ण तिथि (अमावास्य) को दुष्प्रभावबाट बच्नको लागि त्यसको एक दिन अगाडिको चतुर्दशीको दिन भगवान् शिवको उपासना गरिएजस्तै वर्षको अन्तिम महिना आउनुभन्दा अगाडि नै महाशिवरात्रिको रूपमा पूजा-अर्चना गर्ने विधान शास्त्रमा पाइन्छ।

किन मनाइन्छ शिवरात्रि  :

पौराणिक मान्यताका अनुसार महाशिवरात्रिकै दिन शिवजी पहिलो पटक अग्नि ज्योतिर्लिङ्गको रुपमा प्रकट भएका थिए । उक्त ज्योतिर्लिङ्गको आदि वा अन्त्य नै थिएन । भनिन्छ, शिवको यो ज्योतिर्लिङ्ग रुपलाई जान्नको लागि नै सृष्टिकर्ता ब्रम्हाले हाँसको रुप धारण गरेर माथिमाथि आकाशतिर र सृष्टिको पालनकर्ता विष्णुले बँदेलको रुप धारण गरेर तल तल पातालतिर गएका थिए । तर जति गए पनि उनीहरु शिवको आदि र अन्त्य रुप फेला पर्न सकेनन् ।

अर्को मान्यताअनुसार, महाशिवरात्रिकै दिन विभिन्न स्थानहरुमा शिवका ६४ ज्योतिर्लिङ्गहरु उत्पत्ति भएका थिए । तीमध्ये पनि हालसम्म मानिसहरुलाई १२ ज्योतिर्लिङ्गको बारेमा मात्रै थाहा छ । ती १२ ज्योतिर्लिङ्गहरुमध्ये सबैभन्दा महत्वपुर्ण काठमाडौंस्थित पशुपतिनाथ मानिन्छ ।

अर्को मान्यताअनुसार चाहिँ महाशिवरात्रिको रातमा नै भगवान शिवशंकर र माता पार्वतीको विवाह सम्पन्न भएको मानिन्छ ।

महाशिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वको रूपमा लिइएको पाइन्छ। शिवपुराणमा भगवान् विष्णुले एक पटक भगवान् शिवलाई कुन व्रतबाट भक्तजनहरूलाई भोग र मोक्ष एकसाथ प्रदान गर्नु सकिन्छ भनी सोध्दा भगवान् शिवले दशवटा व्रतहरूको नाम लिनुभएकोमा महाशिवरात्रिलाई अत्यधिक महत्त्व दिँदै भोग र मोक्ष चाहनेले शिवरात्रिको व्रत बस्नु योग्य छ भनी बताएको मानिन्छ ।

नेपालमा राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मानिदै आएको यस दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्यूद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ। कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न यस दिन देशभरका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस पनि मनाइन्छ । महाशिवरात्रिका दिन सैनिक दिवस मनाउने शुरुवात सन् १९३५ बाट भएको मानिन्छ । यस दिन टुँडिखेलमा सेनाले विषेश कार्यक्रम र परेड प्रदर्शन गर्दछ ।

महाशिवरात्रिका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । आजको शिवधुनीपछि जाडो जान्छ, पशुपति दर्शन गर्न आएका भारतीय भक्तजनले जाडो लिएर जान्छन् भन्ने विश्वाससमेत छ ।

वैरागी, उदासी, सन्न्यासी, नागा आदि विभिन्न सम्प्रदायका साधु-सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढा-टाढाबाट आइपुग्छन्।फागुनकृष्ण एकादशीदेखि फागुनकृष्ण अमावस्यासम्म भगवान् श्रीपशुपतिनाथ मन्दिर प्राङ्गणमा अतिथि नागाबाबाहरू आसन जमाएर बस्छन्। उनीहरूको खानपिन र सुविधा नेपाल सरकारको तर्फबाट गुठी संस्थान र पशुपतिक्षेत्र विकास कोषले गर्नु पर्ने दायित्व रहेको छ।

सिल्लाचःह्रे

महाशिवरात्रिलाई नेवाः समाजले “सिल्लाचःह्रे”पर्वका रुपमा मनाउँदै आएको छ । नेपाल संवत अनुसारको सिला महिनाको चःह्रे( सिल्लाचःह्रे) अर्थात बिक्रम सम्वत अनुसारको फागुण कृष्ण चतुर्दशीको दिनलाई नेवाः समुदायले सिलाचाः च्वनेगु पनि भन्ने गर्छन्। शिव उत्पत्ति भएको पवित्ररातमा धुनीसमेत जगाई सिलाचाः याने जाग्राम बसेर महादेवको उपासना समेत गर्न यस दिन बिहानदेखि नै युवाहरु चोक चोकमा बसी बाटोमा आवतजावत गर्ने सबै बटुवाहरुलाई बाटो छेकेर जगाः याने सिल्लाचःह्रेको कर लिने गर्छन् । त्यस्तै नै स-साना नानीहरु पनि पसल-पसल, घर-घर गएर नेवारि भाषामा गाउदै “महाद्यःया इकुल, गणेद्यःया चिकुल, धर्म दुसा सिँ छका फ्वने हिँ, सिल्ला चःह्रे, सिलाचा च्वनेत सिँ निका हिँ, मब्यूसा खवः सिँ तय्, सिलाचा पनेत सिँ निका हिँ, महाद्यःया चिकुल, मब्यूसा खवः स्वाय् काःयने ” भनेर गाउँदै घर-घरमा गएर काठ दाउरा माग्न जाने परम्परा रहेको छ । दिनभरी उठाएको जगाःको पैसा राति ठुल्ठुला काठका मुढाहरु ल्याएर धुनी जगाई धुनीमा शिव पूजा गरि भुटेको मकै भटमास चढाएर सबैले प्रसाद ग्रहण गर्ने चलन छ । शिवरात्रिको धुनीमा उखु पोलेर पड्काएर प्रसादका रुपमा खाएमा रोग लाग्दैन भन्ने विस्वास पनि रहिआएको छ ।

हिजोआज शिवरात्रिमा जगाःको महत्व नबुझेका युवा तथा नानीहरु बाटो छेक्दै बटुवा र सवारी चालकहरुलाई हैरान गरि बलजफ्ती पैसा उठाउने कार्यहरुसमेत गर्न थालेका छन् । यस दिन राजमार्गका ठाउँ-ठाउँमा बस, कार, मोटरसाइकललाई रोकेर जगाः माग्ने तथा साँझपख त्यो कमाइले जाँड-रक्सी खाएर जथाभावी गर्ने जस्तो गलत प्रवृत्तिले पनि प्रश्रय पाइरहेको छ र त्यस्ता गलत प्रवृत्तिलाई भने निरुत्साहित गर्न जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?