आठौँ राष्ट्रिय खेलकुदका संरचना जोगाउने चिन्ता, संरक्षणका लागि बजेट खोजिँदै

बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला प्रदेश ५ का विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्ब रुपैयाँको भौतिक संरचना संरक्षण र व्यवस्थापन गर्ने चुनौती थपिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि यी भौतिक संरचनाको संरक्षण र ब्यवस्थापन हुन नसके खण्डहरमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरिसकेको छ । सरकारले निर्माण गरेका भौतिक संरचनाको संरक्षण, सम्बर्द्धन र चुस्त ब्यवस्थापन गर्नुपर्ने आवाज सबैतिरबाट उठ्न थालेको छ । 

आठौँ प्रतियोगिता सम्पन्न भएपछि झण्डै एक अर्ब रुपैयाँमा निर्माण भएका भौतिक संरचनाको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको पनि भएको ठान्नुहुने भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी शमसुद्दिन सिद्दिकीले सबैले यसतर्फ चासो राख्नुपर्ने बताए ।

उनले नेपालगञ्ज रङ्गशालामा निर्माण भएका भौतिक संरचनाको संरक्षणका लागि हरेक दिन रङ्गशाला पुग्नुहुन्छ । उनका अनुसार वैशाख १२ देखि नै संरक्षणको जिम्मा यहाँका खेलाडी, खेलप्रेमी, सरोकारवाला निकाय र नेपालगञ्जवासीको काँधमा आएको छ । 

उनले भने, ‘नेपालगञ्जमा बनेका संरचनाले हाम्रो गौरव बढाएको छ । यसको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्न सकेमात्र हामी र हाम्रो गौरव कायम रहन्छ ।’

नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवलशमशेर राणा नेपालगञ्जमा निर्माण भएका खेल संरचनाले नेपालगञ्जलाई खेलकुदको शहर बनाउन मद्दत गरेको बताए । 

‘खेलकुद राज्यको हो भन्ने भावनालाई त्यागेर यो सबैको साझा सम्पत्ति हो भन्नुपर्ने बेला भएको छ, उनले भने । 

नेपालगञ्जलाई खेल पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना आठौंका बेला निर्माण भएका संरचनाले दिएको बताउँदै उनले सबैको सहयोग भए उपमहानगरपालिका बजेट विनियोजन गर्न तयार रहेको स्पष्ट पारे ।

उनले भने, ‘नगरमा भएका सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व हामी सबैको हो । सबैले चासो दिए मात्र संरक्षण गर्न सम्भव छ । नत्र आठौँले नेपालगञ्जलाई दिएको उपहार खेर जानेछ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ निर्माण भएका संरचनाको संरक्षण र निर्माणका क्रममा रहेका संरचना पूरा गराउन नागरिक समाजले नजीकबाट नियाल्नुपर्ने बताए ।

‘भौतिक संरचना निर्माणका क्रममा नागरिक समाजका अगुवाले अनुगमन गर्नुपर्ने हो तर, त्यो गर्न सकेनौ, यसमा हाम्रो पनि दोष छ,’ उनले भने, ‘अब बनिसकेका संरचनाको संरक्षण गर्ने दायित्व हाम्रो काँधमा आएको छ ।’

निर्माण भएका संरचना व्यवस्थित रुपमा उपयोग गर्न स्थानीय तहलाई जिम्मा दिनुपर्ने उनको विचार छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य आठौँ राष्ट्रिय प्रतियोगिताले नेपालगञ्जको पहिचान बदल्ने संरचना उपहार दिएको ठान्नुहुन्छ ।

उनका अनुसार बनेका संरचनाको स्याहार, सम्भार गर्न सके नेपालगञ्ज खेलकुदको  ‘हब’ बन्नेछ । 
सीतापुरमा निर्माण भएको भलिबल रङ्गशाला संरक्षण नभए खण्डहर बन्ने खजुराका समाजसेवी ऋषि पोख्रेलले चिन्ता व्यक्त गरे ।  उनका अनुसार यी संरचनाको संरक्षणका लागि स्थानीय तह र खेलसँग सम्बन्धित निकायले चासो दिनुपर्छ ।

‘लाखौँ रुपैयाँ खर्चेर बनाइएको संरचना लागुऔषध प्रयोग गर्ने थलो बन्ने चिन्ता छ,’ उनले भने । 

संरक्षणका लागि बजेट खोजिँदै 

प्रदेश ५ खेलकुद परिषद्का अध्यक्ष भीम वलीले आठौँ राष्ट्रिय खेलकुद सकिएसँगै यसले दिएको उपहार संरक्षण गर्ने चिन्ता थपिएको बताए ।

संरक्षणका लागि प्रदेश खेलकुद परिषद्सँग बजेट नभएकाले पाएको सम्पत्ति गुम्ने खतरा बढेको उनको भनाइ छ । खेलकुद परिषद् एक्लैले संरक्षण गर्न नसक्ने भन्दै उनले सहयोगका लागि विभिन्न सङ्घसंस्थासँग अपील गरे ।  ४० लाख खर्चिएर रोपेको दुबो सुक्ने खतरा बढेको छ । 

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश ५ मा बनाइएका खेल पूर्वाधार संरक्षणका लागि सञ्चालन कार्यविधि बनाइने भएको छ । बाँकेमा मात्रै आधा अर्बका खेल पूर्वाधारहरु निर्माण गरिएका छन् । यद्यपि, केही खेल पूर्वाधारहरु भने अझै निर्माणकै क्रममा छन् । अधुरा खेल संरचनालाई पूरा गर्न तीव्रताका साथ निर्माण कार्य अगाडि बढाइएको प्रदेश ५ का अध्यक्ष वलीले बताए । 

‘यसै महिना कार्यविधि जारी गर्ने गरी आन्तरिक तयारी थालिएको छ,’ वलीले भने, ‘सञ्चालन कार्यविधिले प्रदेश ५ मा बनाइएका खेल संरचनाहरु  व्यवस्थित हुनेछन् ।’ बाँकी रहेका खेल पूर्वाधारको निर्माण पनि यसै आवभित्र सक्ने लक्ष्य राखिएको छ ।

खेल पूर्वाधारहरुको निर्माण सक्न राखेप र मन्त्रालयसँग आवश्यक बजेट माग गर्ने तयारी भैरहेको छ । बाँकेमा यतिखेर ह्याण्डबल कोर्ट, पौडी पोखरी, भारत्तोलोन एकेडेमी, भलिबल स्टेडियम, जुडो र नेपाल रङ्गशालाको फुटबल मैदानको अन्तिम चरणका काम भैरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?