बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती

लोकपथ
0
Shares

बागलुङ । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ ।

गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् । सेवासुविधाको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ सुनसान बन्न थालेको छ ।

सुनसान बन्दै गएको गाउँमा स्थानीय बाबुराम पौडेल र उनकी श्रीमती मायादेवी पौडेल भने व्यावसायिक मौरीपालनमा रमाई राखेकी छन् । बसाइँसराइले उजाड बन्न थालेको गाउँमा व्यावसायिक बन्दै गएका पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठिक लाग्यो । अहिले उनीहरु धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् ।

पौडेलले तराईमा घडेरीसमेत जोडेका छन् । गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुने हुँदा बसाइँसराइ नगरेको बाबुरामले बताए । उनको घरको बार्दली, कौसी, छानो र पिँढीभरि मौरीका घार छन् । घारमा मौरीले रस बनाइरहेका छन् । आधुनिक प्रविधि अपनाएर मौरीपालनमा लागेका पौडेल दम्पतीले तरकारीसँगै सुन्तला खेती पनि गर्दै आएका छन् ।

बाबुराम आफैँले आधुनिक मौरीको घार बनाउने हुँदा हरेक वर्ष हजारौँको खाली र मौरीसहितका घार बिक्री हुने गरेको उनले बताए । हातमा सीप र जाँगरले गर्दा सुनसान गाउँमा बाबुराम सफल उद्यमीकारुपमा चिनिन्छन् ।

पौडेलले बारीमा दुई वटा हाइटेक टनेल बनाएर मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । पाँच वर्ष अगाडि लगाएका एक सय बोट सुन्तलाले पनि अहिले उत्पादन दिन थालेका बाबुरामले बताए । मौरीपालनलाई मुख्य पेसा बनाएको भन्दै लोकल कुखुरा, दूध, घ्युका लागि भैँसीसमेत पालन गरेको उनको भनाइ छ ।

गाउँमा थुप्रै छिमेकी धमाधम बसाइँसराइ गरे पनि यहाँ अवसर धेरै भएकाले गाउँ छोड्न नसकेको बाबुरामले बताए । दश वर्ष अगाडि साथीभाइको लहलहैमा मलेसिया पुगेर २२ महिना दुःख गरेको सुनाउँदै सङ्घर्ष गरे घरमै पनि प्रशस्त कमाइ गर्न सकिने उनको भनाइ छ ।

घरमा पहिले बाउबाजेको पालादेखि दुई/चार घार मौरी पाल्दै आएको बताउँदै बाबुरामले अहिले आधुनिक तरिकाले व्यावसायिकरुपमा लागिएको जानकारी दिए ।

“गाउँमा काठ जति पनि पाइन्छ, हातमा सीप भएकाले मौरीको घार आफैँ बनाउँछु । पहिले मुडे घारमा मौरी पाल्ने चलन थियो, अहिले सबै आधुनिक घारमा राखेका छौँ”, बाबुरामले भने, “विदेश २२ महिना बसेर आएपछि स्वदेशमै केही गरौँ भन्ने लागेर व्यावसायिक मौरीपालन सुरु गरेको हुँ । अहिले प्रशस्त आम्दानी भइरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?