एभरेष्ट म्याराथन दोस्रो सातामा

काठमाडौं । हिमालय एक्सपिडिसन्सले  ‘तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन’ यही जेठ दोस्रो साता आयोजना गर्ने भएको छ ।  

यही जेठ १५ गते हुने १७ औँ चरणको उक्त म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट शुरु भई नाम्चेबजार पुगेर समापन गरिने जानकारी दिइयो । प्रतियोगितामा विदेशी १ सय ५५ धावकसहित दुई सयभन्दा बढी धावकको सहभागिता रहने जनाएको छ । 

प्रतियोगितामा ४२ दशमलब १९५ किमीको म्याराथन, ६० किमीको अल्ट्रा म्याराथन र २१ किमीको हाफ म्याराथनमा प्रतिस्पर्धा हुने  आयोजक संस्थाका संस्थापक विक्रम पाँडेकाजीले जानकारी दिए । उनले उक्त म्याराथन विश्वकै एक आकर्षक र साहसिक खेलका रुपमा विकास भएको चर्चा गर्दै सबै धावकलाई सम्बन्धित मार्गका हिमनदी, प्राचीन शेर्पा गाउँ तथा गुम्बाहरु र भौगोलिक विविधताको रसास्वादन गर्न अनुरोध गरे । 

फुल म्याराथनको पुरुषतर्फका विजेताले दुई लाख, दोस्रोले एक लाख र तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् भने महिला प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउनेछन् 

त्यस्तै विदेशी प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः  ५० हजार, ३५ हजार र २५ हजार पाउने छन् । अल्ट्रा दौडका विजेताले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउनेछन् । हाफ म्याराथनतर्फका विजेताले भने ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार पाउनेछन् ।

प्रतियोगितामा यस वर्ष २२ वर्षे बेलायती क्रिस्टोफ ज्याक्सन सबैभन्दा कान्छा धावक हुने भएका छन् भने क्यानाडाका ६७ वर्षीय लिओनार्ड स्टानमोर सबैभन्दा ज्येष्ठ धावक हुने भएका छन् । 

आयोजक हिमालय एक्सपिडिसन्सका अभिषेक पाँडेले उक्त प्रतियोगिताका लागि धावकहरु बिहीवार सगरमाथा क्षेत्रतर्फ लागेको जानकारी दिए । म्याराथान उच्च हिमाली क्षेत्रमा आयोजना हुनेभएकाले धावकहरुलाई १० दिनको पदयात्रा गराएर सगरमाथा आधार शिविर पुर्‍याइने उनको भनाइ थियो । 

प्रतियोगितामा नेपालसहित विश्वका ३० राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?