कोन्टा र भोन्ड्रोसोभा सेमिफाइनल प्रवेशको लागि भिड्ने

एजेन्सी । ब्रिटेनकी जोहन्ना कोन्टा जारी इटालियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । 

बिहीवार राति सम्पन्न भएको महिला एकलतर्फको खेलमा कोन्टाले अमेरिकी भेनस विलियम्सलाई २-० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन् । कोन्टाले भेनसलाई खेलको पहिलो सेटमा ६-२ र दोस्रो सेटमा ६-४ ले पराजित गरेकी थिइन् ।

२७ वर्षिया कोन्टाले दोस्रो चरणको खेलमा विश्व नम्बर आठ अमेरिकी स्लोन स्टेफेन्सलाई तथा तेस्रो चरणको खेलमा सात पटकका ग्राण्डस्लाम च्याम्पियन भेनसलाई पाखा लगाइन् । कोन्टा हाल विश्व वरियताको ५० औँ स्थानमा छिन् ।

कोन्टा सन् २०१७ मा विम्वल्डन टेनिसको सेमिफाइनलसम्म पुगेकी थिइन् । उनले अहिलेसम्म तीन पटक ‘डबलुटिए’ टेनिसको उपाधि जितिसकेकी छिन् । 

यि दुई खेलाडीबीचको खेल एक घण्टा १२ मिनेट चलेको थियो । अब उनले चेक रिपब्लिककी मार्केटा भोन्ड्रोसोभाको सामना गर्नेछिन् ।

भान्ड्रोसोभाले तेस्रो चरणको खेलमा रसियाकी डारिया कासात्किनालाई ७-५, २-६ र ६-२ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अन्तिम आठको स्थान तय गरिन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?