एनआईसी एशिया बैंकको ऋणपत्र सानिमा क्यापिटलबाट निष्काशन हुने

काठमाडौं । एनआईसी एशिया बैंकको चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सानिमा क्यापिटलबाट निष्काशन हुने भएको छ । 

एनआइसी बैंकले ऋणपत्र निष्काशन गर्न सानिमा क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले  ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 

एनआईसी बैंकले एक हजार रुपैयाँ अंकित दरका ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। चार अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत व्यक्तिगत तथा ४० प्रतिशत सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ ।

बैंकका अनुसार सात वर्षको अवधिमा परिपक्व हुने ‘एनआई सी एशिया ऋणपत्र २०८३ र ८४’ ऋणपत्रमा वार्षिक १० दशमलब २५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने जनाएको छ। 

साथै एनआईसी एशिया बैंकले प्रस्तावित १० दशमलब २५ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल हुनुका सार्थ दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने पनि जनाएको छ । 

यो बैंकले नेपालभर २ सय ८३ शाखा कार्यालयहरु छन् । त्यस्तै २ सय ८९ एटिएम तथा ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै एनआइसी बैंक नेपालको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक समेत हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?