प्रधानमन्त्री ओलीको नजरमा गौतम बुद्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन् । 

शनिवार २५६३ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका हुन् । 

शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको प्रधानमन्त्री ओलीद्वारा जारी सन्देशमा उल्लेख छ । 

“संसारमा दुःख छ र दुःख हटाउने सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “जातीय भेदभाव र छुवाछुत प्रथाको विरोध गरे । समनताको सिद्धान्तको प्रतिपादन गरे । त्यसैले गौतम बुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।” 

साथै बुद्धका विचारहरू जीवन दर्शन र मानव कल्याणसँग सम्बन्धित भएकोले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, संयुक्त राष्ट्रसंघले समेत गौतम बुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तको रुपमा अवलम्बन गरी संसारलाई त्यसै अनुरूप शान्तिको बाटोमा डोर्होयाउन खोजेको बताए । 

यसैगरी सन्देशमा भनिएको छ, बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकार सधै सकारात्मक रहेको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?