घण्टाघर च्याम्पियन

काठमाडौं । आयोजक नेपाल सितोरियो कराँते डो संघ, घण्टाघर शाखा डोजोले दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराँते प्रतियोगिताको उपाधि जितेको छ ।

पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा भएको प्रतियोगितामा घण्टाघरले ६ स्वर्ण, ५ रजत र ६ कास्य पदक जित्यो । ४ स्वर्ण, ३ रजत र ७ कास्यमा माउन्ट ग्लोरी स्कुल दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको बौद्ध डोजोले ३ स्वर्ण, १ रजत र ३ कांस्य हात पा-यो ।

पुरुषमा आयोजक घण्टाघरका अर्जुनकुमार बागचन तथा महिलामा केन्द्रीय डोजोकी अप्सरा श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, आयोजक डोजोका प्रमुख प्रशिक्षक हरिबहादुर राउतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि एकदिने प्रतियोगिताको सूचना, सञ्चार तथा प्रवधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २ सय ५० खेलाडीले २२ स्पर्धामा प्रतिस्पर्धा गरेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । उद्घाटनका अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता ८ वर्षीय आर्यन रन्जितलगायतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?