छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित ६ जना पक्राउ

लोकपथ
49
Shares


काठमाडौं । अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका-२ स्थित भैंसेबाट करिब १५ किलो अवैध लागुऔषध चरेशसहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३१ वर्षीय प्रशान्त तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले बा.प्र-०२-०२०प ८८३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।


यस्तै दाङको लमही नगरपालिका-५ बसपार्कबाट ६ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका-६ सुन्दरनगर बस्ने १९ वर्षीय अरुण गाईने र २२ वर्षीय सुदिप विक रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले अरुणलाई ४ ग्राम १ सय ३० मिलिग्राम र सुदिपलाई २ ग्राम ५ सय २० मिलिग्रामसहित पक्राउ गरेको हो ।

यसैगरी, झापा मेचीनगर नगरपालिका(१२ सरेडागीबाट २ सय ८० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फाल्गुनन्द गाउँपालिका-३ राँके बस्ने २४ वर्षीय रोमन भन्ने रमन फेन्जुङ र ईलाम, ईलाम नगरपालिका-६ बस्ने २१ वर्षीय समिर योगी रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले प्र.१-०३-००१ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेल स्थितबाट ८ सय ५० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?