अप्टिकल फाइबर बिछ्याउने कार्य आजदेखि, पहिलो पाइला धादिङको गल्छीबाट…

काठमाडौं । सरकारले आज (सोमवार)बाट ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ अप्टिकल फाइबर बिछ्याउँदै छ । 

सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पार्न आजबाट अप्टिकल फाइबर बिछ्याउन लागिएको हो । 

सोमवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट औपचारिक शुरुवात गर्दै छन् । 

सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश १, २ र ३ अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।

त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमवार नै फाइबर बिछ्याउने कामको औपचारिक शुरुवात हुँदैछ । 

टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै २१७९ किलोमिटर फाइबर बिछ्याउनेछ । 

यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पु-याउनेछ । 

सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पु-याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो ।
सरकारले उक्त परियोजनाको लागि करिब ९ अर्ब खर्च गर्दैछ । 

सोही योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई चार अर्ब ८८ करोडमा जिम्मा दिएको थियो । 

यस विषयमा २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो । 

फाइबर बिछ्याउन आवश्यक उपकरणका लागि सबै सम्झौता पूरा भइसकेकाले सोमवार यसको औपचारिक शुरुवात गर्न लागिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । 

आजबाट बिछ्याउन शुरु हुने अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिन्छ । तामा(कपर)को तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकाले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने प्रचलन छ । 

देशैभर विस्तार गर्न लागिएको ९६ कोरको अप्टिकल तारमार्फत उच्च गतिको(ब्रोडब्यान्ड) इन्टरनेट स्थानीयतहसम्म उपलब्ध गराउन सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?