मैत्रीपूर्ण खेलमा पूर्ण फिट भएका खेलाडीलाई खेलाउँछौँ : मुख्य प्रशिक्षक योहन कालिन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहन कालिनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडीको नाम सार्वजनिक गरेका छन् । 

मुख्य प्रशिक्षक कालिनले अर्को महिना मलेसियामा हुने दुई मैत्रीपूर्ण खेलका लागि आज ‘सोमवार’ खेलाडीहरुको नामावली सार्वजनिक गरेका हुन् । प्रशिक्षक कालिनले विराट महर्जनको कप्तानीमा २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

नेपालले आगामी जनु २ तारिखमा मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

नेपाल र मलेसियाबीचको खेल क्वालाम्पुरमा हुनेछ । त्यस्तै नेपालले जुन ६ तारिखमा चाइनिज ताइपेईसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । यो मैत्रीपूर्ण खेल सन् २०२० मा हुने विश्वकप फुटबल छनोटको तयारी स्वरुप लिइएको हो ।  

प्रशिक्षक कालिनले भने, ‘यो हाम्रो लागि सुनौलो अवसर हो, आशा गरौँ दुवै मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने छौँ ।’ 

‘खेलाडी छनोट प्रशिक्षणमा आधारित छ, केही नयाँ खेलाडीहरूले अभ्यास सत्रमा धेरै राम्रो प्रदर्शन गरेका छन् र आशा छ कि उनीहरूले पनि आउँदो खेलमा आफूलाई प्रमाणित गर्न सक्छन्’, उनले थपे । 

साथै प्रशिक्षक कालिनले केही खेलाडीहरु फिटनेस समस्याहरू रहेको पनि बताए । उनले लोकपथलाई भने, ‘दुई मैत्रीपूर्ण खेलका लागि पूर्ण फिट भएको खेलाडीहरूको छनोट गर्नेछौँ ।’ 

त्यस्तै राष्ट्रिय टिमका नियमित सदस्य विमल घर्तीमगर र भरत खवास पहिलो पटक राष्ट्रिय टिमबाट बाहिरिएका छन् । मुख्य प्रशिक्षक कालिनले दुई मैत्रीपूर्ण खेलका लागि दुवै खेलाडीलाई टिममा समावेश गरेका छैनन् । 

युवा स्टार विमल हालै माल्दिभ्सको क्लबमा अनुबन्ध भएका छन् । तर, फिटनेसमा कमजोर भएको कारण विमललाई टिममा नराखिएको प्रशिक्षक कालिनले बताए । त्यस्तै खवास चोटका कारण टिमबाट बाहिरिएका हुन् ।

यता मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर कमल श्रेष्ठ र दिनेश राजवंशी टिममा परेका छैनन् । नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाएका छन् ।

छनोट भएका खेलाडीहरु 

गोलकिपर : किरण चेम्जोङ, एलान न्यौपाने, बिकेश कुथु

डिफेन्डर :  बिराज महर्जन, सरोज दाहाल रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिल्वाल 

मिडफिल्डर/फर्वाड : सुनिल बल, रवि पास्वान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राणा, नवयुग श्रेष्ठ, अविशेक रिजाल, अन्ज विष्ट 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?