गोदावरी । एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिका क्षेत्रभित्र सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयनमा ल्याएको ढल लगायत भौतिक पूर्वाधार निर्माण एवं सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो ।
सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका अनुसार धनगढीमा पहिलो चरणमा निर्माणका लागि सम्झौता भएका सडकमा प्रहरी गुल्मदेखि चर्चसम्मको दुई किलोमिटर सात मिटर, धनगढी मेनरोड (ट्राफिक चौराहदेखि कैलाली नाला) सम्म एक किलोमिटर ३८ मिटर र चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस गेटसम्म तीन किलोमिटर ६५ मिटर रहेका छन् ।
त्यस्तै, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ७० मिटर, डिभोटी–जाई, हसनपुर रोड एक किलोमिटर १५ मिटर र मालपोत रोड ४३ मिटर रहेका छन् । एसियाली विकास बैंक (एडीबी) ले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्टयाइएको रु एक अर्ब ३५ करोड बजेटबाट १० दशमलव २५ किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले दुई चरणमा सडक स्तरोन्नतिको काम भइरहेको आयोजनाका सूचना अधिकारी शौरभ कलौनीले बताए ।
उनका अनुसार १० दशमलव ८ किलोमिटर सडक स्त्तरोन्नतिका लागि १२ जुलाई सन् २०२० मा ३१ मार्च २०२४ मा सम्पन्न गर्ने गरी कालिका कन्ट्रक्सनसँग ७६ करोड ९० लाख ६७ हजारमा सम्झौता भएको हो । स्तरोन्नति भइरहेका सडकको भौतिक प्रगति ८५ देखि ९० प्रतिशत रहेको कलौनीले जानकारी दिए । पहिलो चरणमा निर्माणाधीन अधिकांश सडकको काम सम्पन्न भइसकेको छ भने केही निर्माणाधीन सडकको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया