पोखरा । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ ।
नेपाली समाजमा विभिन्न चाडपर्व विशेष र मेलामा आयोजना हुने ठेलो प्रतियोगिता प्रथमपटक प्रदेशस्तरीय गर्न लागिएको हो ।
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना एवं गण्डकी प्रदेश सरकारको सहयोग र नेपाल ओलम्पिक कमिटीको प्रवद्र्धनमा हुने प्रतियोगिता आगामी असारको १० र ११ गते ‘जुन २५ र २ ६मा’ पोखराको टुँडिखेल मैदानमा हुने मञ्चले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न मञ्चका महासचिव खेमबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । त्यस्तै समितिको प्राविधिक समिति संयोजकमा खड्ग रानाभाट, प्रचारप्रसार संयोजकमा केशव पाठक, मैदान व्यवस्थापन संयोजकमा दिलबहादुर गुरुङलगायत छन् ।
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकूदमा समेत प्रवेश गराउन पहिलोपटक परम्परागत खेल ठेलो प्रतियोगिता हुन लागेको उपसमिति संयोजक गुरुङले जानकारी दिए ।
महिला र पुरुष गरी गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडी दुई दिनसम्म पोखराको टुँडिखेल मैदानमा प्रतिष्पर्धामा भाग लिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया