हुम्लामा भारतीय तीर्थयात्रीबाट आठ लाख राजश्व सङ्कलन

हुम्ला । हुम्लामा गत शनिवारबाट कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ । 

हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै वर्षेनी हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्ने गर्दछन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए ।

शनिवारदेखि बिहीवारसम्म नेपालगञ्ज हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३ सय ३२ महिला र ४ सय १ पुरुष गरी ७ सय ३३ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् । सिमकोट गाउँपालिकाले गएको वर्षदेखि हुम्लाको सिमकोट हुँदै हिल्सा नाका पार गर्ने तीर्थयात्री र बाह्य पर्यटकबाट प्रतिव्यक्ति एक हजार १ सय राजश्व उठाउने गरेको छ ।

६ दिनमा हुम्ला भित्रिएका ७ सय ३३ भारतीय पर्यटकबाट सिमकोट गाउँपालिकाले आठ लाख ६ हजार ३ सय राजश्व सङ्कलन गरेको सिमकोट गाउँपालिकाबाट विमानस्थलमा राजश्व सङ्कलन गरिरहेका दीपेन्द्र भण्डारीले जानकारी दिए ।

भारतीय तीर्थयात्री सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गराउने जिम्मा लिएको ट्राभल एजेन्सीले अहिले पैसा नदिएको तर आठ लाखभन्दा बढी राजश्व सङ्कलन भएको भण्डारीले जानकारी दिए । 
 
गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजश्व रकम गाउँपालिकामा लगानी गर्ने जानकारी दिएको छ । सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजश्व ६०/४० गरेर दुई गाउँपालिकाले रकम बाँडफाँड गर्ने निर्णय भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।

दर्जीका अनुसार बाह्य पर्यटकबाट उठेको राजश्व रकमबाट ६० प्रतिशत पाउने भएको छ भने नाम्खा गाउँपालिकाले ४० प्रतिशत राजश्व पाउने भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?