काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज शुक्रवारदेखि आइतवारसम्म देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।
उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा न्यूनचापीय प्रणालीले प्रभाव पारिरहेको छ । प्रिमनसुनको समय भएकाले यो गतिविधि लामो समयसम्म कायम रहन सक्दैन ।
राति देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिवार देशका अधिकांश स्थानमा आंशिक बदली रही अपराह्नपछि पश्चिमी र मध्य भूभागका एक दुई स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
आइतवार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशका पूर्वी भूभागका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव शून्य सेल्सियस छ । आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया