काठमाडौं । काठमाडौं महानगरपालिका–१७ स्थित क्षेत्रपाटी–ढल्कोको करीब एक किमी सडक कालोपत्र नहुँदा धुलोले घरमा बस्नै नसकिने अवस्था आएको स्थानीयवासीको गुनासो छ । मेलम्चीको पाइप बिछ्याउन यो सडक खनिएको थियो ।
सडक खनेर पाइप बिछ्याएको दुई वर्ष पूरा हुँदा पनि कालोपत्र नगरिँदा व्यवसाय गर्न नसकिएको क्षेत्रपाटी चोकमा पसल चलाएर बस्नुभएकी शोभा बज्राचार्यले बताइन् ।
शैलुङ कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको यो सडकमा सूचना पार्टीसमेत नराखिँदा कहिले सम्झौता भएको, कहिले सक्नुपर्ने, लागत कति भन्ने विषयमा जानकारी पाउन नसकिएको स्थानीयवासीको गुनासो छ ।
काठमाडौं महानगरपालिका–१७ का अध्यक्ष नवीन मानन्धर आयोजनाका बारेमा थाहा पाउनु त परैजाओस् निर्माण व्यवसायीको सम्पर्क नम्बर समेत पाउन नसकिएको बताए । सडक धुलाम्य भएर आँखा नै नदेखिने भएपछि वडा कार्यालयको नेतृत्वमा विरोध प्रदर्शन गरिएको उनले सुनाए ।
निर्माण व्यवसायीका तर्फबाट सडक रेखदेखमा खटिनुभएका इञ्जिनीयर लक्ष्मण नकर्मी दुई वर्षअघि नै सम्झौता गरिए पनि सडक डिभिजन कार्यालय, काठमाडौंका दुईवटा कार्यालय समायोजन एवं कर्मचारी सरुवाका कारण काममा ढिलाइ भएको दाबी गरे ।
डिभिजन कार्यालय मीनभवनका प्रमुख इञ्जिनीयर अशोक शाक्य सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले मेलम्चीको पाइप बिछ्याउन खनिएका सडकको कालोपत्र गर्नुपर्ने सबै सडकको ठेक्का गरेकाले लागत निश्चित कुनै खण्ड विशेषमा सूचना पाटी नराखिएको हुनसक्ने बताए ।
लागतसमेत धेरै सडकको जोडेर ठेक्का दिएको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया