सुदूरपहाडमा भूकम्पको धक्का

 बैतडी–सुदूरपश्चिममा गएराति भूकम्पको धक्का सहसुुस गरिएको छ । शनिबार राति ९ः८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो ।
 
    भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रिक्टर स्केलको परकम्प गएको हो ।
 
    यसअघि गत चैत २६ गते पनि बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको थियो । यसका साथै चैत ४ गते पनि भारत र चीनको सीमा आसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार तीनपटक परकम्प गएको थियो ।
 
    गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?