एकदिवसीय विश्वकपको अभ्यास खेलमा न्युजिल्याण्डद्वारा भारत पराजित

एजेन्सी । ‘आइसीसी’ एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा न्युजिल्याण्ड विजयी भएको छ । 

लन्डनमा शनिवार राति सम्पन्न भएको अभ्यास खेलमा न्युजिल्याण्डले भारतलाई ६ विकेटले पराजित गरेको हो । १ सय ८० रनको सामान्य लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको न्युजिल्याण्डले ३७ दशमलब १ ओभरमा मात्र ४ विकेट गुमाएर निर्धातिर लक्ष्य पुरा ग-यो ।  

न्युजिल्याण्डका लागि रोस टेलरले ७१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान केन विलियमसनले ६७ रन तथा मार्टीन गुप्टिलले २२ रन जोडे । भारतका लागि जस्प्रित बुम्राह, रविन्द्र जडेजा, हार्दिक पाण्डया र युजभेन्द्र चाहलले समान १-१ विकेट लिए । 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७९ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि रविन्द्र जडेजाले ५४ रन, हार्दिक पाण्डयाले ३० रन, कुलदिप यादवले १९ रन, कप्तान विराट कोहली १८ रन तथा महेन्द्र सिंह धोनीले १७ रन जोडे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ तथा जेम्स निशमले ३ विकेट लिएका थिए ।

इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै टिमले अभ्यास खेलेका हुन् । विश्वकप क्रिकेट मे ३० तारिखबाट शुरु हुँदैछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?