स्पोर्टस् अवार्ड असारमा हुने

काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्च ‘एनएसजेएफ’ को आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डको १६ औँ संस्करण आगामी असार १७ गते हुने भएको छ ।

खेल क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिने  सो कार्यक्रम काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिने मञ्चद्वारा आज ‘आइतवार’ यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए ।

यस वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवाड, लाइफटाइम एचिभमेन्ट अवाड, टिम अफ द इयर र इन्टरनेशनल एशियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्रदान गरिने उनको भनाइ थियो ।

वर्ष खेलाडी महिला र पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन छिट्टै सार्वजनिक गर्ने आयोजकले जनाएको छ । लाइफटाइम, पारा र टिम अफ दि इयरको अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । 

त्यस्तै अन्य विधाका विजेताले जनही ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै मञ्चले अवार्डका मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग आज ‘आइतवार’ सम्झौता नवीकरण गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हंशराजतर्फबाट अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार यसपटक हंशराज हुलासचन्दले मञ्चलाई साढे २८ लाख बराबरको नगद र जिन्सी सामान उपलब्ध गराउनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?