नेपाल बन्दको असर देशभर, दुईवटा ट्रकमा आगजनी

मकवानपुर । नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । 

मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ । मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ ।
 
हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उनले बताए । 

आगजनीका कारण मानवीय क्षति भने भएको छैन । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ ।
  
नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो । इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 
आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?