प्रतिनिधिसभामा सरकारलाई प्रश्नै प्रश्न, खै जनतालाई शान्ति सुरक्षा ?

काठमाडौं । नेपाली कांग्रेसले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरेको छ । प्रतिनिधिसभाको सोमवारको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसदहरुले राजधानीमा नै बम विस्फोटमा परि सर्वसाधरणले ज्यान गुमाईरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको धारणा राखेका हुन् । 

कांग्रेसका सांसदहरुले दुई तिहाईको दम्भ देखाउन छाडेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण समेत गराए । नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले राजधानीमा दिनदहाडै बम विस्फोटमा परि सर्वसाधरणको ज्यान गएको भन्दै सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

शक्तिशाली सरकारको समयमा पनि राजधानीकै बासिन्दा सुरक्षित हुन नसकेको र नेपालीहरु आतंकित भएको भन्दै परियारले सरकार के गरेर बसिरहेको छ भनी प्रश्न गरिन् ।

उनीले भनिन्, 'सरकार किन चुप ? सरकार किन निदाएको छ ? नेपाली जनताले सरकारलाई खोज्न कहा जानुपर्ने सभामुख महोदय ?'

त्यस्तै सांसद लालकाजी गुरुङ्गले पाँचथरदेखि राजधानीको घट्टेकुलोसम्म श्रृंखलाबद्ध बम विस्फोट भईरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराए । दुई तिहाईको दम्भले मात्रै जनताले शान्ति सुरक्षाको महसुस गर्न नसक्ने भन्दै उनले निषेधको राजनीति नगर्न सरकारलाई चेतावनी समेत दिए । 

यता सांसद बहादुर सिंह लामाले सरकारले शान्ति सुरक्षा दिन नसकेको भन्दै दुई तिहाईको दम्भ नदेखाई वार्तामार्फत समस्या समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद शान्ता चौधरीले शान्ति सुरक्षाको प्रत्याभुतिका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद सत्य नारायण शर्मा खनाल ले पांचथर जिल्लामा ढाका सिलाई बुनाईको तालिम लिन आउनेहरुलाई आफ्नै होटलमा खाना खुवाउँदा धनबहादुर शर्माको परिवारले नुनमा सिसा पिसेर मिसाएर खान दिंदा पनि कारवाही किन भएन भनी गृहमन्त्रीको जवाफ माग गरे । 

त्यस्तै सांसद सिता देवी यादवले दिनदहाडै राजधानीमा बम विस्फोटमा परि सर्वसाधरणको हत्या भईरहदा पनि सरकार के अर्थनिन्द्रामा छ ? भनी प्रश्न गरिन् ।  

सांसद सुजाता परिवारले सरकारले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको टिप्पणी गरिन् । सिंहदरबार नजिकै बम विस्फोट हुनु, पाँचथरमा ९ जनाको हत्या लगायत मुलुकभर विस्फोटका घटना भईरहनुले मुलुकको शान्ति सुरक्षाको स्थिति कमजोर भएको पुष्टि भएको भन्दै शान्ति सुरक्षा प्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद हिरा गुरुङ्गले शान्ति सुरक्षा नदिने सरकारसंग के विकासको आशा गर्ने भनी प्रश्न गरिन् । उनीले भनिन्, ‘कहा छ शान्ति र सुरक्षा ? नेपालको शान्ति र सुरक्षा कता हरायो ?’भन्दै प्रश्न गरे । 

सांसद ज्ञान कुमारी छन्त्यालले सरकारले राजधानीकै सुरक्षा व्यवस्था चुस्त राख्न नसकेको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

उनीले भनिन्, ‘जनता एक छाक भोको बस्नु पर्दैन्, भोको बसे फोन गर्नु भन्ने सरकारले जनताको सुरक्षा दिन नसकेर दिउँसै बम पड्केर ४/ ४ जनाको मृत्यु भएको छ, यस्ता क्रियाकलाप रोक्न म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?