५० लाख लागतमा आदेश्वर पार्कको निर्माण शुरु

काठमाडौं । धार्मिक तथा ऐतिहासिक महत्व बाकेका नागार्जुन नगरपालिका –५ स्थित आदेश्वरमा ‘पार्क’ निर्माणको कार्य शुरु गरिएको छ । 

नगरपालिकाको  ५० लाखको लागतमा निर्माण गर्न लागिएको उक्त पार्क करीब २२ रोपनी क्षेत्रफलमा फैलिएका छ। पार्कमा ऐतिहासिक तथा धार्मिक महत्व झल्किने खालका वस्तु राखिने छ । 

पार्कमा हरियाली वातावरणसँगै वनभोज स्थल, स–साना कार्यक्रम आयोजना गर्न डबली, मन्दिर, स्मारक र बालबालिकाका लागि खेलकुद  समाग्री निर्माण गरिने छ । आदेश्वर मन्दिरको नामबाट उक्त र्पाकको नाम आदेश्वर पार्क राखेको हो ।

स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको आदी शरीर पतन भएको र महादेव उत्पन्न भएको विश्वासमा उक्त स्थानमा आदेश्वर महादेवको मन्दिर स्थापना गरी पूजा गर्न थालिएको हो । धार्मिक तथा पुरातात्विक महत्व बोकेको उक्त मन्दिरमा हरेक सोमबार भक्तजनको भीड लाग्ने गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?