विप्लव समूहको बन्द : सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारणलाई सास्ती

काठमाडौँ । नेत्रवित्रम चन्द ‘विप्लव’ समूहको बन्दका कारण आज ‘सोमवार’ उपत्यकामा आंशिक असर पारेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतवार काठमाडौँमा भएको बम विष्फोटनले उत्पन्न त्रासका कारण आज उपत्यकामा साविक झैँ सार्वजनिक गाडी नचलेका हुन् । निजी गाडी भने सञ्चालनमा छ । उपत्यका बाहिर भने केही बढी असर परेको प्रहरीले जनाएको छ ।

विभिन्न जिल्लामा बसमा आगजनी गराइएको पाइएको  र  यस क्रममा विभिन्न क्षेत्रबाट पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए। यसअघि आइतबार साँझ प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो । प्रवक्ता पोखरेलले विभिन्न जिल्लामा नक्कली बम राखेर त्रास फैलाउने काम भएको बताए ।

रामेछाप, हेटौँडा, सुर्खेत, नवलपुरलगायत क्षेत्रमा केही गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । बन्दमा उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजमार्गमा सवारी साधनलाई ‘स्कटिङ’को व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

बन्दका कारण उपत्यका भित्रिने र बाहिरिने गाडीसमेत सञ्चालन नभएको काठमाडौँस्थित महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । उपत्यकाका तीनै जिल्लामा बन्दको आंशिक असर परेको उनको भनाइ छ । 

आइतवार विप्लव समूहका सदस्यले बम बनाउने क्रममा काठमाडौंको घट्टेकुलो, सुकेधारा र थानकोटमा विष्फोट हुँदा सो समूहका चार जनाको मृत्यु भएको थियो । घटनामा सात  घाइते भएका थिए ।

घाइतेको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेकामध्ये अधिकांश विप्लव समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?