गणतन्त्र दिवसलाई भब्य मनाउने तयारीमा कामपा

काठमाडौं । काठमाडौं महानगरपालिका गणतन्त्र दिवस मनाउन सरसफाइ र सजावटको काममा जुटेको छ ।

आगामी जेठ १५ गते मनाइने ११ औँ गणतन्त्र दिवसका लागि कामपाले प्रमुख विद्यसुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थान उपसमिति नै गठन गरेर तयारी थालेको छ । 

उपसमितिका सदस्य सचिव विष्णु जोशीका अनुसार तयारीस्वरुप अहिले सरसफाइ र अन्य सजावको काम भइरहेको छ । उक्त दिन कामपाको तर्फबाट खानेपानीको व्यवस्था, बस्नका लागि एक हजार कुर्सी राख्ने, विभिन्न समुदायबाट संस्कृति कार्यक्रम गर्ने तयारीमा कामपा जुटेको हो । 

त्यससँगै कामपाले सहभागी भएका पाहुनालाई समस्या परे तत्काल उद्धार गर्न कार्यक्रम अवधिभर एक एम्बुलेन्स र एक दमकल परिचालन गर्नेछ । त्यसका लागि गत सोमबार प्रमुख शाक्यको संयोजकत्वमा बसेको मञ्च व्यवस्थापन उपसमितिको बैठकले जनसाधारण बस्ने कुर्सीको व्यवस्था गर्ने, पिउने पानीको व्यवस्था गर्ने, टुँडिखेलमा ध्वजापताका राखेर सजावट गर्नेलगायत निर्णय गरेको हो । 

जनसाधारणलाई घाम र पानीबाट बचाउन बस्ने व्यवस्थामा कामपाको ध्यान रहेको छ । गणतन्त्र प्राप्त भएको दिनको सम्झनामा प्रत्येक वर्षको जेठ १५ गने भव्यरूपमा यो दिवस मनाउँदै आइएको छ । विगतका वर्षमा चर्को घामका कारण नागरिकलाई समस्या परेकाले यस वर्ष कामपाले बस्ने स्थान र पिउने पानी लगायत व्यवस्थापन गर्न लागेको हो । 

त्यसैगरी बैठकले, हेलिकप्टरबाट प्रदर्शन गरिने ब्यानर र वृष्टि गर्न फूल नेपाली सेनालाई उपलब्ध गराउने, मञ्चमा प्रयोग हुने साउण्ड सिस्टमको व्यवस्था गर्ने काम महानगरको जिम्मामा रहने निर्णय गरेको छ । त्यस्तै कार्यक्रम स्थलमा भएका भौतिक संरचनाको रङरोगन गर्ने काम पनि भइरहेको छ ।

दिवसमा उपत्यकाका सबै नगरपालिकालाई सहभागी गराउने तथा गणतन्त्रको महत्व नागरिकसम्म पु-याउने उद्देश्य महानगरको रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?