कृष्णसेनको सम्मानमा स्मृतिसभा

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार कृष्णसेन इच्छुक मारिएको दिन जेठ १३ गतेलाई शहीद पत्रकारको सम्मानमा स्मृतिसभाको आज आयोजना गरेको छ । 

महासङ्घको भवनमा आयोजना भएको कार्यक्रममा अध्यक्ष गोविन्द आचार्यले पत्रकार कृष्णसेन इच्छुक मारिएको दिन जेठ १३ गतेलाई महासङ्घले हरेक वर्ष शहीद पत्रकारको सम्मानमा स्मृति दिवस मनाउने गरेको जानकारी गराए । 

उनले नेपालमा पत्रकार पत्रकारिता गरेकै कारण मारिएका तथा बेपत्ता पारिएको हुँदा घटनाका दोषीलाई कारवाही नभएसम्म महासङ्घले आवाज उठाइरहने बताए । 

महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले महासङ्घले पत्रकारको पेशालाई चिन्ने भन्दै मारिएका तथा बेपत्ता परिएका पत्रकारको न्यायका लागि सधैँ लागिरहने उल्लेख गरे। 

प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझाले जुनसुकै पृष्ठभूमिमा बनेका सरकार आए पनि पत्रकार त्यसको सिकार बन्नुपरेको बताए । महासङ्घका पूर्वमहासचिव उजिर मगरले शहीद तथा बेपत्ता पत्रकारका सदस्यको सहभागितामा आगामी दिनमा स्मृति दिवस मनाउनुपर्ने धारणा राखे । 

क्रान्तिकारी पत्रकार सङ्घ नेपालका महासचिव बाबुराम भुषालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका क्रममा आफ्नो ज्यानको आहुति दिएका पत्रकारको मूल्याङ्कन नभएको बताए । 

महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले नेपालमा द्वन्द्वकालदेखि हालसम्म ३७ पत्रकार मारिएका तथा पाँच जना पत्रकार बेपत्ता रहेका भन्दै त्यसको न्यायका लागि आवाज उठाउन महासङ्घले कार्यक्रमको आयोजना गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?