हुवावेका प्रमुख भन्छन्, ट्रम्पले फोन गरे पनि म उठाउँदिन, उनीहरूलाई सामान बेच्ने छैन

टेलिकम्युनिकेसन कम्पनी हुवावेका प्रमुख रेन झेङफेईले अमेरिका- चीन व्यापार वार्तामा आफू सहभागी नहुने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशको व्यापार वार्तामा हुवावेलाई समावेश गर्न सकिने बताएको केहि दिनमा हुवावेका प्रमुख रेन झेङफेईले यस्तो प्रतिक्रिया दिएका हुन्।

एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा रेनले ट्रम्पको प्रस्ताव आफैंमा ठूलो जोक भएको बताए ।

उनले भने, ''अमेरिकाले कहिल्यै पनि हाम्रा सामान किनेको छैन। भविष्यमा उसले किन्न चाह्यो भने पनि म उनीहरूलाई सामान बेच्ने छैन। त्यसैले नेगोसियसनको कुनै जरूरी छैन। उनले थपे, 
 ट्रम्पले वार्ताका लागि बोलाए पनि वेवास्ता गरिदिन्छु । फोन गरे पनि म उठाउदिन ।''

संसारको दोस्रो स्मार्ट फोन निर्माता र नयाँ पुस्ताको फाइभजी नेटवर्क विस्तारमा आक्रामक हुवावेलाई केही समयअघि ट्रम्पले अमेरिकामा प्रतिबन्ध लगाएका थिए।

हुवावे राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै उनले अमेरिकी कम्पनीहरूलाई हुवावेसँग कारोबार नगर्न पनि निर्देशन दिएका थिए।

ट्रम्पको निर्देशनअनुसार अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले हुवावेका नयाँ फोनमा जिमेल, गुगल म्याप, युट्युबलगायत सुविधा नदिने बताएको छ भने चलिरहेका फोनमा पनि सफ्टवेयर अपडेट नहुने पारेको छ।

अमेरिका र चीन झन्डै ९ महिनादेखि व्यापार युद्धमा छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?