पूर्वदेखि पश्चिमसम्म अवैध लागुऔषधको धन्दा, १० जना पक्राउ

लोकपथ
28
Shares

काठमाडौं । अवैध लागुऔषधसहित देशको विभिन्न ६ स्थानबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो ९ सय २९ ग्रामसहित दाङ लमही नगरपालिका–११ बस्ने ५२ वर्षीया आशा राई रहेका छन् ।

प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरी बल बिओपी फुटाहाबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका–१० धुलावारी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ६० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–१ बस्ने २१ वर्षीय गंगा प्रसाद मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सातसय मिलिग्राम र नगद १ लाख ३९ हजार रूपैयाँसहित सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २४ वर्षीया कन्चन परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका–३ अदुवाखोला पुल छेउबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने २४ वर्षीय अशोक साह समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय मिलिग्राम र तराजुसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बहराईच बस्ने ३९ वर्षीय अजय कुमार बिक्षित, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २८ वर्षीय रिसव कौशल ठथेर र बाँके कोहलपुर नगरपालिका–१४ बस्ने १९ वर्षीय दिनेश बिक रहेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४० एएन १२६१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दार्चुला, महाकाली नगरपालिका–१ श्रीबगरबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ७ सय ग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका–३ बस्ने २७ वर्षीय हर्कलाल रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले सु.प.प्र.०२–००१ त १३१० नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्रलीमा कोदोको बोराभित्र राखेको उक्त पदार्थसहित चालक रानालाई पक्राउ गरेको हो ।

साथै थप सोधपुछको क्रममा उक्त सामान पठाउने ब्याँस गाउँपालिका–४ सुनसेरा बस्ने ५५ वर्षीय जयलाल कुँवरलाई समेत प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?