काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताएका छन् ।
मन्त्री बाँस्कोटाले १२ औँ गणतन्त्र दिवसको अघिल्लो दिन आज ‘मंगलवार’ रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा आयोजित विशेष जागरण गीत सम्मेलनका सहभागी र अतिथिलाई सिंहदरबारस्थित रेडियो नेपालको परिसरमामा सम्बोधन गर्दै सबैभन्दा ठूलो कुरा गणतन्त्रले सबैलाई नेपालमा पहिले कहिल्यै नभएको स्वतन्त्रता, स्वाधीनता र समान अवसर दिएको स्पष्ट पारे ।
उनले भने, ‘अब हाम्रा बस्तीमा बारुदको गन्ध जरुरी छैन, गणतन्त्रमा जनता नै मालिक हुने भएकाले जनताका अगाडि बन्दूक केही होइन ।’
गणतन्त्रपछि बनेको पहिलो बहुमतको सरकारले गणतन्त्रलाई संस्थागत गर्ने र देशलाई प्रगतिको दिशामा उन्मुख गराउने नीति तथा कार्यक्रम ल्याएको स्मरण गराउँदै उनले थपे, ‘रातारात मुलुक बन्दैन, आर्थिक परिवर्तन जति सजिलो छ, सामाजिक र सांस्कृतिक परिवर्तन गर्न उत्तिकै कठिन रहेकोले अब हाम्रो ध्यान त्यता जानुपर्छ ।’
मन्त्री बाँस्कोटाले अबको लडाइँ गरीबी समाप्त गर्ने, कृषि र शिक्षामा फड्को मार्ने र प्राप्त अधिकारलाई सुदृढ तुल्याउने हुनुपर्ने बताए ।
उनले अहिले जनताबाट निर्वाचित सरकारले गणतन्त्र र परिवर्तनलाई संस्थागत गर्दै समृद्धिको आधार तयार गरिरहेको जनाउँदै यो सरकार पनि असफल भए को आउने भन्ने स्पष्ट हुनुपर्ने जिकिर गरे ।
गत एक वर्षमा सरकारले संविधानअनुकूल नयाँ कानून र संरचना निर्माणमा समय व्यतीत गरेकाले अबको योजना र प्रयास समृद्धितर्फको यात्रा हुने उनले उल्लेख गरे ।
मन्त्री बाँस्कोटाले भने, ‘जनताको रगत, आँशु र पसिना साटिएर आएको गणतन्त्र कसैले दिएको उपहार होइन, गणतन्त्र सत्तरी वर्षसम्म जनताले गरेको सङ्घर्षको प्रतिफल हो, अब मुलुकलाई अन्तरराष्ट्रिय मानकसँग गाँस्न आवश्यक छ, अब कोही पनि जनता भोकै बस्नु पर्दैन । कृषिमा क्रान्ति गरेर समृद्धिमा लाग्नुपर्छ ।’
कार्यक्रममा विभिन्न कलाकारले विशेष जागरण गीत प्रस्तुत गरेका थिए । कलाकारले ‘गणतन्त्र स्थापना’, ‘नयाँ दिन आयो’, ‘हम ने पहाडी’, ‘थ्व सर्गतय्’, ‘बलिदान’ आदि बोलका गीतसङ्गीत प्रस्तुत गरिएका थिए । सम्मेलनको प्रायोजन नेपाल टेलिकमले गरेको हो ।
यही जेठ १५ गते १२ औँ गणतन्त्र दिवस मनाइँदैछ । ऐतिहासिक जनआन्दोलन–२ पछि २०६५ साल जेठ १५ गते तत्कालीन प्रतिनिधिसभाबाट राजतन्त्रतात्मक शासन अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया