एजेन्सी । ‘आइसीसी’ विश्वकप क्रिकेट प्रतियोगिताको अभ्यास खेलमा भारत विजयी भएको छ ।
सोफिया गार्डेन्समा मंगलवार राति सम्पन्न भएको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको हो । ३ सय ६० रनको चुनौती लिएर मैदानमा ब्याटिङ गरेको बंगलादेशको पारी ४९ दशमलब ३ ओभरमा मात्र २सय ६४ रनमा समेटिएको थियो ।
बंगलादेशका लागि मुश्फिक्युर रहिमले ९० रन, लिटोन दासले ७३ रन तथा मेहेदी हसन मिराजले २७ रन बनाए । यता बलिङतर्फ भारतका कुलदिप यादव र युजभिन्द्र चाहालले समान ३–३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५९ रनको योगफल तयार पारेको थियो । भारतको लागि महेन्द्रसिंह धोनीले शतकिय पारी खेले । उनले १ सय १३ रनको योगदान दिए । त्यस्तै, केएल राहुलले १ सय ८ रन बनाए । कप्तान विराट कोहली भने ४७ रनमा आउट भए ।
त्यस्तै मंगलवार राति नै भएको अर्को अभ्यास खेलमा वेष्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले पराजित गरेको छ । ४ सय २२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४७ दशमलब २ ओभरमा सबै विकेटको क्षतिमा ३ सय ३० रन मात्र बनाउन सक्यो ।
न्युजिलयन्डका लागि टोम ब्लुन्डलले शतक प्रहार गर्दै १ सय ६ रन, कप्तान केन विलियम्सनले ८५ रन तथा इस सोधीले ३९ रन बनाए । बलिङतर्फ कार्लोस ब्रथवइटले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ४९ दशमलब २ ओभरमा सबै विकेटको क्षतिमा ४ सय २१ रनको याृगफल तयार पारेको थियो ।
वेष्ट इन्डिजका लागि शाइ होपले १०१ रन बनाउँदा एन्ड्रे रुसेलले ५४, इभिन लुविसले ५० र क्रिस गेलले ३६ रन बनाए । बलिङतर्फ ट्रेन्ट बोल्टले चार विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया