टोखामा टग अफ वार गोल्डकप

काठमाडौं । काठमाडौंको टोखामा तेस्रो टग अफ बार ‘डोरी तान’ दक्षिण एसियाली गोल्डकप च्याम्पियनसिप आयोजना हुने भएको छ । 

दक्षिण एशियाली टग अफ वार फेडरेसन र नेपाल तान डोरी संघको आयोजनामा टोखा मैदानमा गोल्डकप हुन लागेको हो । च्याम्पियनसिपमा नेपाल र भारतका ६÷६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । 
च्याम्पियनसिपमा श्रीलंका, बंगलादेश र पाकिस्तान पनि सहभागी हुने जनाए पनि अन्तिम समयमा नआएको संघले जनाएको छ ।

च्याम्पियनसिपको व्यवस्थापन भने श्री भगवती क्लबले गरेको छ । 

च्याम्पियनसिपमा ६४ केजी सिनियर पुरुष, ४८ केजी सिनियर महिला, ६० केजी यू–१९ पुरुष, ४४ केजी यू–१९ महिला, ५६ केजी मिक्स र ५४ केजी मिक्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडीको छनोट हिसान खेलकुद प्रतियोगिताबाट गरिएको जनाइएको छ ।

६४ केजी सिनियर पुरुषमा भने भगवती क्लबले प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपमा सहभागी हुन भारतबाट एक सय ४० खेलाडी नेपाल आएका छन् । च्याम्पियनसिपकै दौरान दक्षिण एशियाली टग अफ वार फेडरेसनको बैठक पनि बसने भएको छ ।

यही बैठकले आगामी च्याम्पियनसिपका बारेमा टुंगो लगाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?