काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ ।
पुलिस क्लबले प्रदेश नं १ लाई ७५ रनले पराजित गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा पुलिसले ब्याटिङ गर्दै ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १ सय ८५ रन बनायो । १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ले ३८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रन मात्र बनायो । प्रदेश १ का लागि सन्नी पुनले सर्वाधिधक २७ रन बनाए ।
त्यस्तै मनिस थापाले १५ तथा कप्तान पुष्प थापाले १० रन बनाए । बलिङतर्फ पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले दुई-दुई तथा आरिफ शेखले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा पुलिस क्लबका लागि अमित श्रेष्ठले १ सय ६ रनको शतकीय पारी खेले । त्यस्तै कुशल भुर्तेलले २४ रन बनाए ।
बलिङतर्फ प्रदेश १ का फिर्दोस अन्सारी, सिद्धान्त लोहनी, कमल खत्री, पुष्प थापा र दीपेश कँडेलले दुई-दुई विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया