आजदेखि न्यूरोडमा स्मार्ट पार्किङ, अग्रिम बुक नगरे पार्किङ नपाइने

काठमाडौंँ – सवारीसाधनको अव्यवस्थित चापलाई कम गर्ने उद्देश्यले काठमाडौंँ महानगरपालिकाले आजबाट शहरका विभिन्न स्थानमा स्मार्ट पार्किङ सेवाको परीक्षण गरिरहेको छ।  महानगरले पाँच स्थानमा स्मार्ट पार्किङ सेवा सुरु गरेसँगै यसको परिक्षण भइरहेको हो। महानगरपालिकाले 'ह्विल्स ट्रली एयर्स'सँग सहकार्य गरेर काठमाडौँमा स्मार्ट पार्किङको अवधारणा ल्याएको हो।

खिचापोखरी सडक (आरबी कम्प्लेक्सको अगाडि), पाको सडक (ताम्राकार कम्प्लेक्स भएको स्थान),  प्युखा मार्ग (रामेश्वर स्वीट्सको पछाडि), शुक्रपथ (विशाल बजारबाट इन्द्रचोक जाने सडक) र धर्मपथ गरी पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था मिलाइएको छ। 

कसरी गर्ने बुकिङ 
सेवा प्रयोग गर्न चाहने व्यक्तिहरूले स्मार्ट फोनमा 'केटीएम पार्क' नामक एप डाउनलोड गरी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन छनोट गरी आफ्नो साधन पार्किङ गर्ने स्थान बुक गर्नुपर्छ । 

दुई पाङ्ग्रे सवारीसाधन पार्किङ बुक गर्न चाहनेले खिचापोखरी सडक,पाको सडक, प्युखा सडक र शुक्रपथमध्ये आफूलाई पायक पर्ने स्थानमा पार्किङ बुक गर्न सक्नेछन्।

चार पाङ्ग्रे सवारी साधनका लागि धर्मपथमा मात्रै पार्किङको व्यवस्था मिलाइएको छ। सबै स्थानमा गरेर करिब ७०० वटा दुई पाङ्ग्रे सवारी साधन र १०० वटा चार पाङ्ग्रे सवारी पार्क गर्न मिल्नेछ।

बुकिङ गर्ने सेवाग्राही १५ मिनेटभित्र आफूले पार्किङ बुक गरेको स्थानमा पुग्नु पर्नेछ।

सेवाग्राहीले सुविधा प्रयोग गरेबापत दुई पाङ्ग्रे सवारीका लागि प्रति घण्टा २५ रुपैयाँ (कर बाहेक) र चार पाङ्ग्रे सवारीका लागि प्रति घण्टा ६० रुपैयाँ (कर बाहेक) लाग्नेछ 

महानगरपालिकाले 'ह्विल्स ट्रुली एयर्स'सँग पाँच वर्षका लागि सम्झौता गरेको छ ।  
पार्किङ व्यवस्थित नहुँदा नागरिकले सास्ती व्यहोर्दै आएका थिए । प्रतिकात्मक तस्वीर  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?