क्रिकेट रंगशाला निर्माणमा अवरोध : चौतर्फी आलोचना

काठमाडौं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण कार्य स्थगित गरिएको छ । 

बुधवार निर्माणाधीन अवस्थानमा रहेको मैदानको बार स्थानीयले भत्काइ दिएपछि निर्माणको सबै काम स्थगित गरिएको हो । नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा रहेको एक समूहले निर्माणाधीन मैदानको जस्ताको बार भत्काएका थिए ।

उनीहरुले त्यस ठाउमा बाटोको माग गर्दै डोजर प्रयोग गरेर बार भत्काएको थियो।  बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेशनले प्रेस विज्ञप्ति निकाल्दै अराजक समूहबाट सुनियोजित ढंगबाट निर्माणाधीन मैदानमा क्षती पु-याएको भन्दै उनीहरुलाई कारवाही गर्न सरकारसँग माग समेत गरेको छ । 

साथै मैदानमा काम गर्ने कर्मचारी र कामदारको ज्यान धनको सुरक्षामा खतरा पर्ने बताउँदै विवाद समाधान नहुन्जेलसम्म निर्माणको सबै काम रोकिएको जनाएको छ ।

यसैबीचत नेपाली कांग्रेसले निर्माणाधीन क्रिकेट रंगशालामा डोजर चलाउनेमाथि कारवाही गर्न माग समेत गरेको छ । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गरिरहेकालाई निरुत्साहित पार्न प्रयत्न गर्ने जो भएपनि तिनीहरुलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै प्रवक्ता शर्माले भनेका छन्, ‘प्रिय धुर्मुस्–सुन्तली’ किञ्चित नडग्मगाउनु, भत्काउनेहरुले होइन बनाउनेहरुले बनाउँछन् संसार, हेलो सरकार देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गरिरहेकालाई निरुत्साहित पार्ने प्रयत्न गर्ने जो हुन् तिनलाई कडा कारवाही गरियोस् ।’

हास्य कलाकारको चर्चित जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुरमा निर्माण भइरहेको थियो । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने कार्य शुरु गरेको थियो । 

‘डीपीआर’ तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने धुर्मुस सुन्तली फाउण्डेसनको लक्ष्य रहेको छ । रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?