जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–८ बिसरभोराका केही व्यक्तिले प्रहरीलाई नै मार्ने धम्की दिएको घटना सार्वजनिक भएको छ ।
प्रहरीमाथि आक्रमण गर्नुका साथै मार्ने धम्की दिएका तीन युवकमाथि इलाका प्रहरी कार्यालय यदुकोहाले मुद्दा दर्ता गरेको छ । बिसरभोराका भुल्ला भन्ने शैलेन्द्र रोहिता, पप्पु भन्ने उदनकुमार रोहिता र अमरपति रोहितामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको कार्यालयका इन्स्पेक्टर चन्द्रकिशोर शाहले जानकारी दिए ।
जग्गाको विषयमा आफन्तसँगै विवाद भएपछि बिसरभोराका भुल्ला भन्ने शैलेन्द्र रोहिताले सार्वजनिक सडक अवरुद्ध पारेका थिए ।
इन्स्पेक्टर शाहले भने, ‘सडक खुलाउन इलाका प्रहरी कार्यालय यदुकोहाबाट प्रहरी टोली त्यहाँ पठाएका थियौं । सो क्रममा भुल्लासहित तीनै जनाले प्रहरीमाथि आक्रमण गरे । प्रहरी जवानलाई ड्युटीमा आए मारिदिने धम्कीसमेत दिए । स्थानीय भद्रभलादमीले छलफल र नापजाँच गरेर विवाद मिलाइसकेका थिए । भुल्ला र उनकै काका नाता पर्ने विनोद रोहिताबीच जग्गाको विवाद थियो । तर, पप्पु नामका व्यक्तिले भुल्लालाई उस्काएर प्रहरीमाथि आक्रमण गर्न लगायो । महिलालाई समेत प्रयोग गरी प्रहरीमाथि ढुंगामुढा गर्न लगाए ।’
पप्पु र भुल्ला आपराधिक चरित्रका व्यक्ति भएको प्रहरीको दाबी छ ।
भुल्लाका बुवा प्रदीप रोहिता जनतान्त्रिकमा लागेर भूमिगत आन्दोलन गर्दा प्रहरी इन्काउन्टरमा मारिएका थिए । उनका छोरा भुल्ला पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको र प्रहरीको नोटिसमा रहेको इन्स्पेक्टर शाहले बताए ।
मुद्दा दर्ता भएपछि प्रहरीलाई बदनाम गर्न भुल्लाले चोरीको नाटक रचेका थिए । इन्स्पेक्टर शाहले भने, ‘चोरी भएकै छैन । तर, भुल्लाका परिवारका सदस्यले घरमा चोरी भयो भनेर झूटो हल्ला चलायो ।’
प्रहरीलाई राति बोलाएर फसाउनेसम्मको षड्यन्त्र गरेको उनको भनाइ छ ।
स्थानीय वडाध्यक्ष तनुकलाल कुसियैतले पनि केही व्यक्तिले समाजलाई आतंकित बनाउन खोजेको बताए । वडाध्यक्ष कुसियैतले भने, ‘जग्गाको सामान्य विवाद थियो । विवाद समाधान भयो । दुबै पक्ष सहमत भए । जग्गामा सिमाना पनि गाडिसक्यौं । तर, अन्तिममा प्रहरीमाथि नै एक पक्षले आक्रमण ग¥यो ।’
जग्गाकै विषयलाई लिएर उनीहरु विनोद रोहिता र उनकी श्रीमती अम्बिकालाई समेत पटक पटक धम्काउने गरेका छन् । विनोद भन्छन्, ‘जग्गाको विवाद मेरो आफ्नै भतिजा भुल्लासँग भयो । तर पप्पु नामका व्यक्तिले प्रहरीमाथि आक्रमण गर्न लगाए ।’
प्रहरीले मुद्दा दर्ता गरेर खोजी गरिरहेका कारण उनीहरुले आफूलाई समेत धाकधम्की दिने गरेको विनोद बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया