काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि विभिन्न दाता समूहले ३ लाख रुपैयाँ प्रदान गरेको छ ।
चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आज ‘शुक्रवार’ विभिन्न दाता समूहले उक्त रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई प्रदान गरेको हो । भरतपुरको होटल गार्डेन रिर्सोटमा काम गर्ने कर्मचारीको तर्फबाट १ लाख रुपैयाँ तथा निर्माण व्यवसायी रेगन पन्तले व्यक्तिगत रुपमा २ लाख रुपैयाँ प्रदान गरेका हुन् ।
होटल गार्डेनमा आयोजित कार्यक्रममा होटलका अपरेसन म्यानेजर दीपेन्द्र पोखरेलले रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई १ लाखको चेक हस्तान्तरण गरेका थिए ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धर्मुसले रंगशाला बन्ने स्थानमा भएको घटनाले आम नेपालीलाई दुःखी बनाएको भन्दै अबका दिनमा निर्भिकतापूर्वक काम गर्ने बातावरण तयार गरिदिन सबैलाई आग्रह समेत गरेका थिए ।
अध्यक्ष कट्टेलका अनुसार रंगशाला निर्माण जनस्तरबाट हुने भएकोले स्थानीय जनतासँग कुनै प्रकारको असमझदारी गर्ने पक्षमा आफूहरु नरहेको र सडकको विषय महानगरपालिका र विश्वविद्यालयले हल गरिदिनुपर्ने बताए ।
साथै उनले काम गर्ने वातावरण तयार हुनासाथ फिल्डको काम अघि बढाउने पनि जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया