काठमाडौँ । मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ ।
चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषद्ले अन्तिम निर्णय लिन सकेको छैन । ११ मध्ये दुई न्यायाधीशबारे परिषद्ले निर्णय गरिसकेको छ । अन्यको हकमा कुनै निक्र्योल निकालेको छैन ।
समयमा निर्णय हुन नसक्दा न्यायाधीशको काम हाजिरमा सीमित भएको छ । छानबिनकै चरणमा उच्च अदालतका दुई न्यायाधीशले अवकाश नै पाइसकेका छन् । अवकाश पाए पनि छानबिन प्रक्रिया भने रोकिने छैन ।
परिषद्ले ३३ किलो सुन प्रकरणको थुनछेक आदेशको विषयलाई लिएर उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित आठ जनालाई काजमा राखेको छ । सुरुवातमा माघ ४ गते परिषद्ले विराटनगरका पाँच न्यायाधीशलाई छानबिन प्रंक्रिया अघि बढाउने निर्णय गर्दै काजमा राखेको थियो । लगत्तै मुख्य न्यायाधीश भुर्तेलसहित तीन जनालाई पनि काजमा झिकाएको थियो ।
परिषद्को काजमा डा.भुर्तेलसहित नगेन्द्रलाभ कर्ण, थीरबहादुर बम, शारङ्गा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौड्याल हुनुहुन्छ । यस्तै, न्यायाधीशहरू साधुराम सापकोटा, जनक पाण्डे पनि परिषद्को काजमा हुनुहुन्छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँ पनि काजमै हुनुहुन्छ ।
न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले काजमा राखिएका न्यायाधीशमाथि विस्तृत अनुसन्धान जारी रहेको बताउनुभयो । कार्कीले भन्नुभयो, ‘अनुसन्धानका रिपोर्टहरू प्राप्त भइसकेका छन् । यी रिपोर्टबारे परिषद्ले विस्तृत रूपमा अनुसन्धान गरिरहेको छ । सफाइको मौका लगायतका प्रक्रियागत काम पनि चलिरहेका छन् । यकिनै गरेर यो मितिमा छानबिन सकिन्छ भन्न सकिन्न तर, अन्तिम–अन्तिम चरणमा छ ।’ गाेरखापत्र दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया