गोरखा । पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको विभिन्न स्थानमा सूचना बोर्ड राख्न सुरु गरिएको हो ।
पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए । “पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिसकिएका छौँ । बाँकी स्थानमा तीव्रताका साथ सूचना बोर्ड राख्ने काम भइरहेको छ”, उनले भने ।
पदमार्गमा पर्ने लापुबेँसीस्थित प्रिन्स ह्यारी हिल्ड र खानीबेँसी, माछीखोलाको एक/एक स्थानमा, खोर्लाबेँसी र मार्साका दुई÷दुई स्थानमा बोर्ड राखिसकिएको अध्यक्ष गुरुङले जानकारी दिए । पर्यटन बोर्ड गण्डकी प्रदेश र धार्चे गाउँपालिकाको संयुक्त साझेदारीमा पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको उनले बताए ।
पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायत जानकारी सूचना बोर्डमा उल्लेख गरिएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार समितिले यसपटक तल्लो मनास्लु पदर्मागअन्तर्गत पर्ने विभिन्न २५ स्थानमा सूचना बोर्ड राख्न लागेको छ ।
केरौजाबेँसी, मार्सा, दोभानखोला, हुल्चुकस्थित कालपोखरी जाने र रुन्चेत जाने स्थान, यारुफाँट, हनिहन्टिङ गर्ने ठाउँ अन्तरबेँसी, सिङ्ला, थमन भिसीगाउँ, यामगाउँ, गुम्दा, भिरकोटलगायतका ठाउँमा सूचना बोर्ड राखिने अध्यक्ष गुरुङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया