हप्तामा एक घर बराबर एक गाग्री पानी

 पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको बताएका छन्  ।

 
  सुख्खा मौसम र गर्मी बढे लगतै खानेपानीका स्रोतहरु सुकेर यो क्षेत्रका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा सदस्य रमा नेपालीले बताइन् ।

पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घरधुरी दलित बस्ती छन् । दलित बस्तीले प्रयोग गर्ने खानेपानीको स्रोत एउटा मात्र रहेको छ । वर्षातको पानी सङ्कलनका लागि सबैका घरमा घैँटा  छन् । तर यसपालिका घैँटाका पानी माघ÷ फागुनमैसकिएपछि खानेपानीको पिरलोमा स्थानीय दिनरात कटाउन बाध्य छन् ।

 यसपटक समयमै प्रयाप्त वर्षात् हुन नसकेकाले आकाशेपानी सकिएपछि यहाँका दलित समुदायमा पानीका लागि मुहानको खोजीमा दिनभर खर्चिन बाध्य हुनुपरेको गुनासो उनीहरुको छ । स्थानीय बासिन्दा, रैनादेवी छहरा गाउँ कार्यापालिका सदस्य तथा  गोपाल परियारका अनुसार पानीको समस्या बढेपछि  दिनरात पानीको मुहानमा बिताउनु परेको छ ।

हप्तामा एक गाग्री पानीले परिवारका लागि अपुग हुने भएपछि यहाँका स्थानीय बासिन्दा तीन घण्टा लगाएर एक गाग्री पानी बोकेर ल्याउन बाध्य बनेका छन् । बिहान ५ बजे पानी ल्याउनका लागि हिँडेका पधेरीहरु ८ बजेतिर घरमा पाइला आइपुग्छन् ।

“पानीका मुहान रहेका क्षेत्रहरु पानी बोकेर फर्किँदा उकालो हिँड्नुपर्छ सारै सकस खेप्नुपर्छ । भुवनपोखरीको कमेरे, मेहालपानी, सिमलडाँडा, खानतुङलगायतका स्थानबाट पानी ल्याउनुपर्छ”, परियारको भनाइ छ ।  

पानीका कारण बालबालिका नियमित विद्यालय जाने अवसरबाट बञ्चित हुनुपरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । डाँडामा बस्ती रहेकाले पानीको समस्या वर्षौदेखि रहे पनि यहाँको खानेपानीको समाधानमा कसैको चासो नपुग्दा समस्या हटेको छैन ।

यो बस्तीलाई लक्षित गरी रैनादेवी, आरखोला, दलित बस्ती खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ । आयोजनाको काम कछुवाको गतीमा हुँदा उपभोक्ताले खानेपानीका लागि दुख भोग्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?