काँग्रेसले सदन अवरोध गरेपछि बैठक स्थगित

पोखरा–गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरुद्ध गरेपछि सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

आजको बैठकको प्रारम्भमा काङ्ग्रेसका प्रदेशसभा सदस्यहरुले उठेर संसद् अवरुद्ध पारेका थिए । सरकारसँग केही विषयमा जवाफ मागेको र प्रदेश सरकारले जवाफ नदिएको भन्दै काङ्ग्रेसका प्रदेशसभा सदस्यहरू उभिएका थिए । सभामुख नेत्रनाथ अधिकारीले तीन पटकसम्म बस्न आग्रह गरे पनि उहाँहरु नबसेपछि संसद् स्थगित गरिएको हो । काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले विविध विषयमा जवाफ दिनुपर्ने माग गर्नुभएको थियो ।

कार्यविधि नै संशोधन गरी अनुदान दिइएको, हचुवामा अनुदान दिइएको, मन्त्रालय आफैले उपभोक्ता समिति गठन गरेकोलगायत विषयमा सदनमा छलफल नै नगरी बजेट छुट्टयाएको जस्ता विषयमा उहाँले जवाफ माग्नुभएको थियो ।

    प्रतिपक्षले हात उठाएर समय माग्नुपर्ने भए पनि हात नउठाएका कारण आफू झुक्किएको सभामुख अधिकारीले प्रतिक्रिया दिनुभयो । प्रतिपक्षी दलसँग छलफल भएको र सोमबार मुख्यमन्त्रीले   जवाफ दिएपछि सदनको कारवाही अघि बढ्ने उहाँले बताउनुभयो ।

काङ्ग्रेस संसदीय दलका नेता नेपालीले यस्ता विषयमा सभामुखले विचार पु¥याउनुपर्ने बताउनुभयो । सङ्घीय समाजवादी पार्टीका हरिशरण आचार्यले सभामुखले बोल्न नदिनु लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?