मृतकका परिवारले राहत पाउने

खोटाङ । खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का १९ वर्षीय एलिस बस्नेत र सोही क्षेत्रका विक्रम भट्टराईका पिडीत परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले छ-छ लाख उपलब्ध गराउने निर्णय भएको छ । 

साप्सु खोलामा शैक्षिक भ्रमणका लागि शनिवार प्राविधिक शिक्षालयले लगेको बेला दहमा डुबेर ज्यान गुमाएका उक्त २ विद्यार्थीका परिवारलाई शिक्षालयले मृतक परिवारलाई  पाँच/पाँच लाख राहत तथा  एक/एक लाख किरिया खर्च दिने सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा आइतवार साँझ भएको छलफलमा शिक्षालयका सञ्चालक र मृतकका आफन्तबीच क्षतिपूर्ति लिने÷दिनेमा दुई पक्षीय सहमति भएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले बताए ।

मृतकका परिवारलाई  ५० हजार तत्काल उपलब्ध गराउने र बाँकी रकम १५ दिनभित्र उपलब्ध गराइने सहमति भएको छ । 

द्धिपक्षीय वार्तामा सहमति जुटेपछि आज मृतक दुवै जनाको शव परीक्षण गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ । शुरुमा डुबेका भट्टराईलाई बचाउने क्रममा बस्नेतले पनि ज्यान गुमाएको अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार खड्काले बताए । 

एलिसका मामा विनोद बस्नेतका अनुसार छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समेत मृतक विद्यार्थीको स्मृतिमा कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ । वडा कार्यालयका तर्फबाट पनि मृतक विद्यार्थीको नाममा सामाजिक काम गर्ने योजना बनाएको वडाध्यक्ष डिल्ली राईले बताए । 

क्षतिपूर्तिको माग राख्दै मृतक परिवारले आइतवार दिक्तेलमा नारा/जुलुस प्रदर्शन गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?