रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीको जोड

काठमाडौं । नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीले जोड दिएका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतवार साँझ आयोजना गरेको ‘व्यवसायीसँगको अन्तक्र्रिया’ कार्यक्रममा उनीहरुले देशको समृद्ध ठमेल निर्माणका लागि ठमेल क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने धारणा राखेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन शान्त, सभ्य र व्यवस्थित ठमेल निर्माण गर्नुपर्ने बताए । ‘व्यवसाय दर्ता, कर्मचारीको पारिश्रमिक स्पष्ट, सिसीटिभी जडान, बत्तीको व्यवस्था, जथाभावी हुने यौनजन्य हिंसाकोे अन्त्य गरेमात्र सुन्दर ठमेल निर्माण हुन्छ’, उनले भने । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको होटल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताउनुभयो । व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय प्रशासनको पूर्ण साथ र सहयोग रहने उनको भनाइ थियो । 

काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले व्यवसायीको सम्पूर्ण विवरण प्रहरी र स्थानीय तहलाई दिएमात्र आफ्नो व्यवसायको सुरक्षा हुने बताए । काठमाडौं महानगरपालिका–१७ का अध्यक्ष नवीन मानन्धरले समृद्ध ठमेल निर्माणका लागि व्यवसाय, प्रहरी र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको उल्लेख गरे । 

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले ठमेलभित्र हुने बालश्रम, श्रमशोषण र यौनशोषणका विरुद्धमा प्रहरी खरो रुपमा उत्रने बताए ।

काठमाडौं  महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले प्रहरी र स्थानीय सरकारले मात्र ठमेललाई शान्त बनाउन नसक्ने बताउँदै प्रत्येक व्यवसायीको सोच र  विचारमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?