नेता सिंहले भने, ‘कांग्रेसको जागरण अभियान त्यति प्रभावकारी भएन’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरिरहेको राष्ट्रिय जागरण अभियान प्रभावकारी नभएको बताएका छन् । 

नेता सिंहले संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठनलाई संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले अहिले सञ्चालन गरिएको जागरण अभियान त्यति प्रभावकारी नभएको उनले जानकारी दिएका हुन् । 

आज ‘सोमवार’ विहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले सो भनाइ राखेका हुन् ।
सरकारलाई खबरदारी गर्न र पार्टी सदृढ गर्न भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गत वैशाख २५ गदेदेखि देशव्यापी जागरण अभियान चलाइराखेको छ । 

साथै नेता सिंहले संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेता-कार्यकर्ताहरुमा निराशा छाएको पनि बताए । उनले भने, ‘आफैले जारी गरेको संविधान प्रभावकारी रुपमा लागू गर्नु पर्ने हो, तर त्यसो भएन, यस्तो अवस्थामा कांग्रेस झनै आफैभित्र अलमलिएको हुनाले आम लोकतन्त्रवादीहरुमा समेत निराशा छाएको छ ।’

उनले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको समेत कार्यक्रममा जानकारी दिए । 

कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘मलुक जटिलतातर्फ अघि बढिरहेको छ,  यस्तो बेला कांग्रेसको भूमिका समन्वयकारी हुनुपर्नेमा कांग्रेस आफैभित्र अलमलिनु बिडम्बनाको कुरा हो ।’ 

उनले मुलुकमा रहेका तमाम चुनौतिहरु सामना गर्न सशक्त र प्रभावकारी भूमिका खेल्ने पार्टीको रुपमा कांग्रेस प्रस्तुत हुन नसक्नु दुःखद भएको पनि बताए । 

नेता सिंहले नेपाली कांग्रेसलाई सुधार्नका लागि जस्तोसुकै चुनौति झेल्नु परेपनि पछि नपर्ने दृढता व्यक्त समेत गरेका छन् । उनले सशक्त मजबुत पार्टी निर्माणको अभियानमा साथ दिन पनि उनले सबैमा अपिल गरे । 

साथै नेता सिंहले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै व्यक्तिलाई नभई पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए । 

भेटघाट कार्यक्रममा राजधानीमा उपलब्ध जिल्ला सम्पर्क समितिका सभापतिहरु तथा पदाधिकारीहरु सहभागी थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?